काठमाडौँ । नेपालको निजामती प्रशासनमा ३१ वर्ष लामो अनुभव सँगालेका रामेश्वर खनाल जसले कर्मचारीतन्त्रको नीतिगत तह र राजनीतिक नेतृत्व (अर्थमन्त्री) दुवैको व्यवस्थापकीय कमान्ड सम्हाल्ने अवसर पाए । देश चरम अस्थिरता र आर्थिक संकटको भुमरीमा अर्थमन्त्रालयको जिम्मेवारी लिएर अन्तरिम सरकारमा गए । उनले संकटबाट अर्थतन्त्रलाई ६ महिनाको अवधिमा ट्रयाकमा राख्न सफल पनि भए ।
अहिले मुलुकको अर्थतन्त्रमा अंकहरू सकारात्मक देखिए पनि बजारमा चरम शिथिलता छ । बैँकहरूमा पैसा थुप्रिए पनि निजी क्षेत्रको आत्मविश्वास गुमेका कारण लगानी हुन सकेको छैन । अर्कोतर्फ, नयाँ सरकारले ५ वर्षभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउने महत्त्वाकांशी कार्ययोजना राखेको छ । सरकारले व्यवसायी र बिचौलियाहरू पक्राउ गरिरहेको छ ।
आखिर अर्थतन्त्रको यो गतिहीनता कसरी तोड्ने ? सम्पत्ति शुद्धीकरणको अनुसन्धान कसरी सुरु भयो । सरकारले यसलाई कसरी बढाउनुपर्छ । सुकुमबासी बस्ती हटाउने अभियानदेखि निजामती ऐनमा हुन लागेको नयाँ व्यवस्था र जल्दाबल्दा विषयमा राज्यले कस्तो बाटो समात्नुपर्छलगायत समसामयिक राजनीतिक, प्रशासनिक र अर्थतन्त्रका विषयमा पूर्वअर्थमन्त्री रामेश्वर खनालसँग रातोपाटीका लागि अनिष मिजारले विशेष कुराकानी गरेका छन् ।



